धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ गोदार चोकस्थित एक मोबाइल पसलमा भएको ठूलो चोरी प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार चोरीमा संलग्न अन्य फरार व्यक्तिहरूको पहिचान र खोज तलासको कार्य तीव्र रूपमा अघि बढाइएको छ ।
भदौ ६ गते शुक्रबार राति करिब १:४५ बजे धनुषाधाम नगरपालिका ८ केसरकट्टी निवासी ५१ वर्षीय राजकुमार साहले सञ्चालन गर्दै आएका पसलमा अज्ञात समूहले ताला फोडी प्रवेश गरेका थिए । पसलबाट ४५ थान मोबाइल सेट, २ थान ड्रोन क्यामेरा, ५ डब्बा टेम्पर ग्लास, ५ थान देवाल घडी, १५५ थान हाते घडी, ६ थान टर्च र नगद ९८,७६५ रुपैयाँ चोरी भएको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
चोरी भएको सम्पत्तिको कुल मूल्य करिब १० लाख रुपैयाँ बराबर रहेको अनुमान गरिएको थियो । प्रहरीले प्राप्त सूचनाको आधारमा अनुसन्धान अगाडि बढाउँदै भदौ ११ गतेसम्ममा तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूको घर र लुकाइएका स्थानबाट १२ थान मोबाइल, घडी, क्यामेरा स्टेण्ड, मोबाइल चार्जर, टेम्पर ग्लास, लेन्स लगायतका सामानहरू पनि बरामद गरिएको छ ।
पक्राउ परेका व्यक्तिहरूमा गणेशमान चारनाथ नगरपालिका ७ निवासी राजेन्द्र मुखियाका छोरा २० वर्षीय अर्जुन मुखिया, सोही वडाका अनिल पासवानका छोरा १९ वर्षीय सिकेन्द्र पासवान र गणेशमान चारनाथ नगरपालिका ५ निवासी उदय नारायण मण्डलका छोरा २२ वर्षीय कृष्ण मण्डल रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी म्याद थप अनुसन्धान भइरहेको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रमुख प्रहरी निरीक्षक जटाशंकर यादवले भने, “चोरी प्रकरणमा संलग्न तीन जनालाई पक्राउ गर्न सफल भएका छौँ । उनीहरूको संलग्नता प्रमाणसहित देखिएको छ र बरामद भएका सामग्रीहरूले पनि घटनामा प्रत्यक्ष संलग्नता पुष्टि गर्छ ।”
निरीक्षक यादवले थपे, “अहिलेसम्म फरार रहेका अन्य व्यक्तिहरूको पहिचान भइरहेको छ । पक्राउ परेकाहरू मार्फत थप संलग्नहरू बारे महत्वपूर्ण जानकारी प्राप्त भएको छ । ठूला चोरीमा संलग्न हुने समूहलाई नियन्त्रणमा लिन सजिलो हुँदैन, तर प्रहरीले गुप्त सूचना संकलन र नियमित अपरेसनमार्फत सफलता हासिल गरेको हो ।”
उनका अनुसार बजार क्षेत्रमा पछिल्लो समय चोरीका घटनामा वृद्धि भएको छ । उनले व्यापारीहरूलाई सुरक्षा सुनिश्चित गर्न सुझाव दिँदै भने, “पसल र घरमा सकेसम्म सिसिटिभी जडान गर्नुपर्छ । राति सर्तक रहनुपर्छ । प्रहरी मात्रले नभई स्थानीय बासिन्दा र व्यापारीले पनि आफ्नो क्षेत्रको सुरक्षामा जिम्मेवारी बाँड्नुपर्छ । यसरी सामूहिक प्रयास भएमा यस्ता अपराधहरू कम गर्न सकिन्छ ।”




