रौतहट । रौतहटस्थित लाल बकैया नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोर बेपत्ता भएका छन् । लाल बकैया नदीमा नुहाउने क्रममा अचानक आएको बाढीको भेलले बगाएर १५ वर्षीय किशोर बेपत्ता भएका हुन् ।
ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित लाल बकैया नदीमा नुहाउने क्रममा १५ वर्षीय बिगन साह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बिहिबार दिउँसो स्थानीय पाँच जना किशोरहरू नदीमा नुहाउन गएका थिए । सबै जनाले एकै पटक नदीमा नुहाउनका लागि हामफालेपछि नदीमा एक्कासि आएको बाढीको भेलले बगाएको थियो ।
चार जना सकुशल निस्किन सफल भएपनि नदीमा हाम फालेका साह अझैसम्म बेपत्ता रहेका छन् । बकैया नदीमा बेपत्ता भएको किशोरको स्थानीय र प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले बताए ।




