रौतहट । रौतहटको इशनाथ नगरपालिकाको मोतिपुरबाट प्रहरीले लागूऔषध गाँजा ३ सय ३४ केजी बरामद गरेको छ । नेपाल भारत सीमावर्ती क्षेत्रबाट लागूऔषध गाँजासहितको पिकअपलाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।
ईशनाथ नगरपालिका ८ मनसरी हुँदै भारततर्फ लैजाँदै गरिएको अवस्थामा सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् डिएसपी राजु कार्कीले जानकारी दिए ।
उनका अनुसार प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको पिकअप गाडीलाई रोक्न खोज्दा सडकमै रोकेर चालक फरार भएका हुन् । उक्त पिकअपलाई प्रहरीले चेकजाँच गर्दा माथिबाट २० पोका काउली लोड भएपनि तल २६ पोका गाँजा फेला परेको रौतहट प्रहरी प्रवक्ता एवम् डिएसपी कार्कीले बताए ।
प्रहरीका अनुसार तरकारी लोड गरिएको जस्तो देखाइए पनि पिकअपभित्र २६ वटा पोकामा लुकाइछिपाइ गरी गाँजा लोड गरिएको थियो । लागूऔषधसहित पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाइएको छैन भने घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






