सर्लाही । नक्कली विवरण पेस गरी नेपाली नागरिकता दिलाउन सहयोग गरेको आरोपमा सर्लाहीको पर्सा गाउँपालिका ४ का वडाध्यक्ष सुवोध राय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार पक्राउ परेका यादवलाई जिल्ला अदालत सर्लाहीले अनुसन्धानका लागि १५ दिनको म्याद थप अनुमति दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनमाथि चार जना व्यक्तिले झुटो वतन र विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नेपाली नागरिकता प्रमाणपत्र लिएको वा लिन खोजेको अभियोगमा सिफारिस तथा सनाखत गरी सहयोग गरेको आरोप छ ।
यस घटना सम्बन्धमा जिल्ला प्रशासन कार्यालयको असार ३ गतेको पत्र प्राप्त भएपछि प्रहरीले नागरिकता सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो ।
सो क्रममा वडाध्यक्ष यादवको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हाल यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




