सर्लाही । सर्लाहीमा भारतीय नम्बरको स्कार्पियोको ठक्करबाट दुई युवकको मृत्यु भएको छ । यस्तै दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार राति करिब ९ बजे ब्रहम्पुरी गाउँपालिका ५ अन्तर्गत पर्ने हुलाकी राजमार्गको पर्सा–भेलही सडकखण्डमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार ब्रहम्पुरीबाट पूर्वतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एमएच ०४ डिजे १२९७ स्कार्पियोले विपरीत दिशाबाट आउँदै गरेको प्र ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट ब्रहम्पुरी २ का २३ वर्षीय अङ्कित चौधरी र २५ वर्षीय रोहित सहनीको गम्भीर चोट पटकका कारण उपचारका क्रममा जनकपुरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।
त्यसैगरी मोटरसाइकलमा पछाडि सवार शिव शङ्कर पण्डित गम्भीर घाइते भएका छन् । उनको हाल बारा स्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।
मृतक चौधरी र सहनीको शव पोष्टमार्टमका लागि जनकपुरबाट मलङ्गवा स्थित सरकारी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।




