जनकपुरधाम । मधेस प्रदेश सरकारले सात वर्षअघि सुरु गरेको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियान अन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रम चालु आर्थिक वर्षमा बजेट अभावका कारण स्थगित गरिएको छ ।
शिक्षा विकास निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को बजेटमा कार्यक्रमका लागि कोही रकम विनियोजन नगरिएको हुँदा योजना अघि बढ्न नसकेको हो । निर्देशनालयकी छोरी शिक्षा बीमा कार्यक्रम संयोजक प्रियंका यादवले बजेट नहुँदा कार्यक्रम रोकिएको जानकारी दिइन् ।
हालसम्म कार्यक्रम अन्तर्गत १४,४५३ जना छोरीको बीमा गरिएकामा, २०७५/७६ मा ५,६६६ जना २०७८/७९ मा १,७०२ जना २०७९/८० मा ३,३०२ जना २०८०/८१ मा ३,७८३ जना छोरीको बीमा गरिएको निर्देशनालयले जनाएको छ । तर, अहिलेसम्म १० हजारभन्दा बढी छोरीको बीमा प्रिमियम तिर्न बाँकी रहेको छ ।
एक जना छोरीको बीमा गर्दा रु ३७,४५७ प्रिमियम लाग्ने व्यवस्था छ । शिक्षा र बालिका सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम बजेट अभावकै कारण अलपत्र परेको छ, जसले दीर्घकालीन प्रभाव पार्न सक्ने विज्ञहरूको धारणा छ ।




