सिरहा । सिरहाको कल्याणपुर नगरपालिका ८ अरङ गाउँस्थित दलित बस्तीमाथि भएको आक्रमणपछि पाँच परिवार विस्थापित भएका छन् । विश्वकर्मा पूजाको क्रममा सुरु भएको सानो विवाद ठूला झडपमा परिणत भई बस्तीमा तोडफोड र लुटपाट भएको छ ।
असोज १ गते विश्वकर्मा पूजामा आयोजना गरिएको आर्केष्ट्रा कार्यक्रमका क्रममा मदिरा सेवनपछि दलित युवासँग स्थानीय प्रभाषसिंह राजपुतबीच सामान्य विवाद भएको थियो । सुरुमा सामान्य देखिएको विवाद समाधान हुन नसकेपछि दलित परिवारमाथि धम्की र आक्रमणको श्रृङ्खला सुरु भएको पीडितहरूले बताएका छन् ।
प्रहरीले विवाद समाधानका लागि असोज १२ र २१ गते छलफल तय गरेपनि छलफल अघि नै असोज १७ गते करिब २०–२५ जनाको समूहले दलित बस्तीमा आक्रमण गरेको थियो । सो क्रममा पाँच वटा घरमा तोडफोड र लुटपाट गरिएको पीडित सोभित पासमानले बताए । पीडितहरूको विवरण अनुसार, विभिन्न घरबाट सुन, चाँदीका गहना, नगद र खाद्यान्न लुटिएको छ ।
बस्तीका अशोक पासमान, राजकुमार पासमान, रासलाल पासमान र बिन्दे पासमानको घरमा गरी लाखौँ मूल्यका सामान हराएका छन् । साथै बगैंचाका फलफूलका बोटहरू समेत नष्ट पारिएको छ । घटनापछि जिल्ला प्रशासन कार्यालयका प्रमुख वसन्त अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले स्थलगत अनुगमन गरी पीडित परिवारलाई त्रिपाल, कम्बल र झुल वितरण गरेका थिए ।
यस घटनामा वडाध्यक्ष रामकिशोर यादवसहित १३ जनाविरुद्ध आपराधिक उपद्रव, तोडफोड र लुटपाटको आरोपमा मिर्चैया प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ । प्रहरीका अनुसार वडाध्यक्ष यादव, कलास सिंह र गणेश कामतीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ भने बाँकी आरोपीहरूको खोजी जारी छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेशराज पुरीले भने, “वडाध्यक्षलाई भिड उक्साएको आरोपमा पक्राउ गरिएको हो । जाहेरीमा नाम रहेका अन्यलाई समेत पक्राउ गर्न खोजतलास जारी छ ।”
यसैबीच, पीडित पाँच परिवारलाई नगरपालिकाले राहत वितरण गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवका अनुसार, प्रतिपरिवार २५ किलो चामल, पाँच किलो दाल, चिउरा, मुरही, सोयाबिन, आलु, प्याज, आटा लगायतका सामग्री उपलब्ध गराइएको हो ।
कार्यबाहक नगर प्रमुख रेखादेवी यादवले आवासको स्थायी व्यवस्थापनका लागि नगरपालिकामा छलफल भइरहेको बताउँदै भनिन्, “हामीले तत्काल राहत दिएका छौं, अब उनीहरूको बसोबास सुरक्षित बनाउन पहल भइरहेको छ ।”
पीडित दलित परिवारहरू भने अहिले त्रास र असुरक्षाको वातावरणमा बाँच्न बाध्य छन् । स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानूनी कारबाहीको माग गरेका छन् ।




