बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका १ का मेयर देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय बागलुङले नेपालीविरुद्ध १ अर्ब ५८ करोड रुपैयाँको बिगो दाबी गर्दै जिल्ला अदालत बागलुङमा मुद्दा दायर गरेको हो ।
मुद्दामा बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार २ वर्षदेखि १५ वर्षसम्मको कैद सजाय माग गरिएको छ । साथै सहकारी संस्थाको पदाधिकारी भएकाले ४० लाख रुपैयाँको सेयर, १ लाख २० हजार नगद र नेपालीको नाममा दर्ता ३३ कित्ता जग्गा समेत जफत गर्न मागदाबी गरिएको छ ।
अनुसन्धान अनुसार, प्रतिवादी देवकुमार नेपाली र उनका सहकारीका अन्य पदाधिकारीहरूले १ हजार ५ सय ४३ जना बचतकर्ताको १ अर्ब ३३ करोड ९२ लाख ५० हजार ३ सय १४ रुपैयाँ अपचलन गरेको पाइएको छ । उनीहरूमाथि बागलुङ र पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थामार्फत कृत्रिम खाता खोली रकम जम्मा गर्ने, बचतकर्ताको रकम दुरुपयोग गर्नुका साथै ठगी गरेको आरोप लागेको छ ।
सो सहकारीका उपाध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक, झगबहादुर शाही, शाखा प्रबन्धक शक्ति किसान, लेखा प्रमुख लालमती रोका, बुर्तिबाङ सेवा केन्द्रकी लेखा प्रमुख अनिता बुढामगर र गलकोट शाखाका प्रबन्धक अनिल नेपाली समेत प्रतिवादी बनाइएका छन् ।
सहकारी ठगीको आरोपमा मेयर नेपाली २०८० जेठदेखि फरार थिए । नेपाल प्रहरीको अनुरोधमा २०८० माघमा इन्टरपोलले उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । त्यसपछि भारतीय प्रहरीले उनलाई नयाँदिल्लीबाट पक्राउ गरी नेपाल पठाएको थियो ।
नेपालीकी पत्नी तथा सह–प्रतिवादी छेला नेपालीमाथि पनि ६ करोड ९८ लाख ८० हजार रुपैयाँ बिगो दाबी गरिएको छ । साथै उनको नाममा रहेको १७ कित्ता जग्गा जफत गर्न माग गरिएको छ ।






