बारा । बारा र पर्सा जिल्लामा गएराति भएका छुट्टाछुट्टै आगलागी घटनामा करिब २८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बारा जिल्लाको महागढीमाई नगरपालिका १ बरियारपुर मठवा टोल बस्ने ३५ वर्षीय मोतिलाल कुशवाहाको ओम गार्मेन्टमा गएराति आगलागी हुँदा करिब २६ लाख ५० हजार रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
त्यसैगरी, पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका १ धोरे बस्ने धुपनाथ राउतको गोठमा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १ लाख ८६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीका दुवै घटनामा स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले बताएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।






