सप्तरी । बारा र सप्तरी जिल्लामा प्रहरीले छुट्टाछुट्टै कारबाही गरी करिब ११ लाख रुपैयाँ बराबरका पटका बरामद गरेको छ । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका २१ बाट आइतबार दिउँसो करिब १ लाख ७ हजार रुपैयाँ बराबरका विभिन्न किसिमका पटका प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ६२९३ नम्बरको बस जाँच गर्दा डिक्कीभित्र लुकाइछिपाई राखिएका पटका फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
त्यसैगरी, सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका २ स्थित सडकबाट शनिबार दिउँसो करिब १० लाख ५ हजार ९ सय ६० रुपैयाँ बराबरका पटका प्रहरीले बरामद गरेको हो । प्रहरी चौकी मौवाहाबाट खटिएको टोलीलाई देख्नासाथ भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको मोटरसाइकलमा सवार व्यक्तिले बोरा फालेर फरार भएका थिए ।
प्रहरीले बोरा खोल्दा ठूलो परिमाणमा पटका फेला पारेको जनाएको छ । प्रहरीले दुवै घटना सम्बन्धी आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।




