महोत्तरी । महोत्तरी जिल्लामा प्रहरीले करिब ३० किलो अवैध लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । दुई छुट्टाछुट्टै स्थानबाट गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको मनराशिसवा नगरपालिका २ स्थित सडकबाट करिब २० किलो गाँजासहित सोनमा गाउँपालिका १ बस्ने ३१ वर्षीय रामभरोश यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले सरपल्लोबाट भोल्हीतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी बर्दिबास नगरपालिका ४ बाट करिब १० किलो ४ सय ८२ ग्राम गाँजासहित सर्लाही हरिवन नगरपालिका ४ बस्ने २३ वर्षीय डेनिस घिसिङसहित चार जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकासँगै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको जनाएको छ । हाल घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






