सर्लाही । सर्लाही, बारा र सप्तरीमा मंगलबार राति र दिउँसो भएको छुट्टाछुट्टै आगलागी घटनामा करिब ८ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सर्लाहीको बलरा नगरपालिका ११ छतौना टोलमा परिक्षण बैठासहित तीन जनाको घरमा गएराति आगलागी हुँदा तीनवटै घर पूर्णरूपमा जलेका छन् ।
सो घटनामा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । त्यसैगरी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका २० सानो बसडिलवा गोठमा नन्दकुमार सिंहको घरमा मंगलबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
यसैबीच सप्तरीको बोदेबरसाईन नगरपालिका ६ पश्चिम टोल खमगाडामा बरस लाल राय र बद्रि रायको गोठमा मंगलबार राति आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ ।






