काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । महोत्तरी क्षेत्र नं ४ ‘ख’ बाट निर्वाचित सांसद तथा प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत रहेका सिंहमाथि विभिन्न उपभोक्ता समितिमार्फत सरकारी रकम हिनामिना गरेको आरोप लगाइएको हो ।
आयोगका अनुसार सिंहले विभिन्न उपभोक्ता समिति गठन गरी ती समितिहरूको खातामा जम्मा भएको रकम व्यक्तिगत स्वार्थका लागि प्रयोग गरेका थिए । उक्त कार्य गैरकानुनी भएकाले आयोगले उनीविरुद्ध ३८ लाख ५० हजार ३१९ रुपैयाँ बिगो दाबी गरेको छ । मुद्दामा सिंहसँगै विभिन्न उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षहरूलाई पनि प्रतिवादी बनाइएको छ । आयोगले अन्य प्रतिवादीहरूबाट समेत रकम असुल गर्ने माग दाबी गरेको छ ।
रधवा पिपलदेखि लक्ष्मीनीयासम्म माटो–ग्राभेल निर्माण उपभोक्ता समितिबाट अध्यक्ष भुपेन्द्रकुमार झाबाट १८ लाख ९१ हजार ९०० रुपैयाँ, दुई वटा सडक निर्माण उपभोक्ता समितिबाट कोषाध्यक्ष मञ्जु देवी पासवानबाट संयुक्त रूपमा २१ लाख ९३ हजार ८१५ रुपैयाँ, धर्मशाला तथा सडक निर्माण समितिबाट अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारीबाट ६ लाख ५७ हजार ७०० रुपैयाँ, र सडक स्तरोन्नति निर्माण समितिबाट अध्यक्ष शम्भुकुमार मण्डलबाट ३ लाख १ हजार ९१५ रुपैयाँ बिगो दाबी गरिएको छ ।
त्यसैगरी, विभिन्न मन्दिर सौन्दर्यीकरण र निर्माणसँग सम्बन्धित उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षहरू रामनाथ सहनी, स्वीकृति देवी, रामशरण खत्वे, बिभादेवी खत्वे, रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत र भिखारी राउत कुर्मीविरुद्ध पनि १ लाख ५० हजारदेखि करिब ३ लाख रुपैयाँसम्म छुट्टाछुट्टै बिगो दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । आयोगले दायर गरेको मुद्दा विशेष अदालतमा दर्ता प्रक्रिया अघि बढाइएको छ ।






