सप्तरी । सप्तरी र सिराहा जिल्लामा शुक्रबार भएको छुट्टाछुट्टै आगलागी घटनामा करिब १६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सप्तरीको रूपनी गाउँपालिका २ पौवास्थित रामलोचन मण्डलको दुईवटा कच्ची घरमा शुक्रबार साँझ आगलागी हुँदा करिब ११ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको बताइएको छ ।
त्यसैगरी सिराहा नगरपालिका १७ माडरस्थित दुर्गा मन्दिर छेउमा रहेका भारत बिहार राज्य मधुबनी हटलेटवाका भुषण शर्माको फर्निचर पसलमा गएराति विद्युत् सर्टका कारण आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार स्थानीय बासिन्दा र दमकलको सहयोगमा दुबै स्थानका आगलागी नियन्त्रणमा लिनुका साथै घटना बारे थप अनुसन्धान भइरहेको छ ।






