जनकपुरधाम । जेनजी आन्दोलनपछि धनुषामा ट्राफिक नियम उल्लङ्घनका घटनाहरू बढेपछि प्रहरीले अब कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार एक सूचना जारी गर्दै सवारी चालकहरूले निरन्तर रूपमा नियम विपरीत कार्य गरे कारबाहीबाट उम्कन नसक्ने जनाएको हो ।
प्रहरीका अनुसार आन्दोलनपछि केही मोटरसाइकल चालकहरूले हेल्मेट नलगाउने, सवारीमा संरचनागत हेरफेर गर्ने, ठूलो आवाजमा मोटरसाइकल चलाउने, मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी चलाउने, र तोकिएको भन्दा बढी यात्रु बोक्ने जस्ता गतिविधि बढेका छन् ।
यस्ता कार्यहरूले सडक दुर्घटना जोखिम र ध्वनि प्रदूषण दुवै बढाएको प्रहरीले जनाएको छ । प्रहरीले सवारी चेकजाँचका क्रममा समेत केही व्यक्तिहरूले अनावश्यक वादविवाद र उच्छृङ्खल व्यवहार प्रदर्शन गरेको पाइएको उल्लेख गर्दै, यस्ता गैरकानुनी क्रियाकलाप दोहोरिए कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको हो ।
उक्त चेतावनी जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरी क्षति पुर्याएपछि जारी गरिएको हो । प्रहरीले जनतामा शान्ति सुरक्षा कायम गर्न र ट्राफिक व्यवस्थापन सुधार गर्न निरन्तर सक्रिय रहेको जनाएको छ ।




