रौतहट । लोक आस्थाको महापर्व छठ पुजाको आज तेस्रो दिन जलाशयमा पुगेर ब्रतालुहरुले अस्ताउँदै गरेको सुर्यलाई अर्घ दिन थालेका छन् । कार्तिक शुक्ल चौथी तिथीदेखि सुरु भएको छठको पहिलो दिन नहाय खाय, दोश्रो दिन खरनाको विधि सकेका ब्रतालुहरुले आज मुख्य दिन अस्ताउँदै गरेका सुर्यलाई अर्घ दिन जलाशय पुगेका हुन् ।
अहिले चन्द्रपुर, दुर्गा भगवती, गौर, गरुडा, इशनाथ, कटहरिया, गढीमाई, माधवनारायणसहित जिल्लाका १८ वटै पालिकामा रहेका पवित्र जलाशय, पोखरी, नदी किनारमा भिडभाड बढेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले छठ घाटहरुमा सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।
छठको चौथो दिन विहान उदाउँदै गरेको सुर्यलाई ब्रतालुहरुले अर्घ दिएपछि चार दिने महापर्व सकिन्छ । नयाँ माटोको चुल्हो वा ग्यास चुल्होमा खाजा, ठेकुवा, कसार, पुरिकिया, खजुरीसहितका सामाग्रीहरु बनाएर बाँसको छैटी,डलिया र सुपलीमा राखेर छठ घाटमा गएर पुजा गर्ने धार्मिक प्रचलन रहेको छ ।




