कञ्चनपुर । जिल्लामा प्रहरीले दुई वटा छुट्टाछुट्टै घटनामा अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार बेलुकी बेलौरी नगरपालिका १० सडकघाटबाट ब्राउनसुगर जस्तो देखिने ५ ग्राम लागूऔषधसहित २६ वर्षीय प्रदिप ऐरी (कृष्णपुर नगरपालिका २, बङ्क) र २९ वर्षीय जनक बोहरा (बेदकोट नगरपालिका २, जडेपानी) पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बागमती प्रदेश ०२–०५० प ७३६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै, बुधबार बिहान शुक्लाफाँटा नगरपालिका ३ बाट चरेश जस्तो देखिने ८४ ग्राम लागूऔषधसहित सोही ठाउँ बस्ने २२ वर्षीय राकेश डगौरालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ । कञ्चनपुर प्रहरीले दुवै घटनामा आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।






