सिम्रौनगढ । सिम्रौनगढ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पताल सेवाहीन बन्दै गएको छ । आवश्यक स्वास्थ्य सुविधा नपाउँदा सेवाग्राहीहरूको संख्या दिनानुदिन घट्दै गएको छ । करिब साढे चार वर्षअघि १५ शैयाको नगर अस्पतालका रूपमा सञ्चालनमा आएको यो स्वास्थ्य संस्था प्रारम्भिक वर्षहरूमा आसपासका बस्ती र छिमेकी भारतसम्मका बिरामीका लागि भरोसायोग्य केन्द्र बनेको थियो । तर पछिल्लो एक वर्षयता अस्पतालको अवस्था क्रमशः कमजोर हुँदै अहिले झनै दयनीय बनेको छ ।
हाल अस्पतालमा दुईजना एमबिबिएस चिकित्सकसहित ११ जना प्राविधिक र प्रशासनिक कर्मचारी कार्यरत छन् । तर उनीहरू नियमित रूपमा उपस्थित भए पनि सेवा प्रवाह भने लगभग ठप्प छ । सेवाग्राहीका अनुसार कर्मचारीहरू हाजिर गरेर समय बिताएर फर्कने गरेका छन् । अस्पतालमा अहिले ओपिडी सेवा बाहेक अन्य सबै सेवा प्रभावित छन् । ओपिडीमा पनि चिकित्सकहरूले बिरामीको सामान्य जाँच मात्र गर्ने गरेका छन् । फार्मेसीमा औषधि छैन, ल्याबमा केमिकल अभाव छ र एक्स–रे मेसिन महिनौँदेखि बन्द छ ।
९७ प्रकारका औषधि निशुल्क वितरण गर्नुपर्ने व्यवस्था रहे पनि अहिले फार्मेसी पूर्ण रूपमा खाली छ । अस्पतालमा दैनिक सयौँ बिरामी आउने गर्दथे भने अहिले १० जना पनि मुश्किलले आउँछन् । आर्थिक रूपमा सक्षम बिरामीहरू निजी क्लिनिक वा अन्य सहरतिर जाने गरेका छन्, जसका कारण स्थानीय गरिब जनताले उपचार नपाएर सास्ती भोगिरहेका छन् । अस्पतालका चिकित्सकहरूले पटक–पटक आवश्यक सामग्री र औषधिको अभाव बारे नगरपालिकालाई जानकारी गराए पनि सुनुवाइ नभएको बताइएको छ ।
बजेट अभावका कारण औषधि, ल्याब सामग्री र एक्स–रेका लागि रिल खरिद गर्न नसकिएको अस्पताल प्रशासनको भनाइ छ । नगरपालिकाको आन्तरिक विवाद र अदालती अवरोधले समस्या थपिएको छ । उपप्रमुखद्वारा दायर गरिएको भ्रष्टाचारसम्बन्धी मुद्दापछि अदालतले पूँजीगत खर्चमा रोक लगाएपछि नगरपालिकाले औषधि तथा सामग्री खरिद गर्न सकेको छैन ।
नगर प्रमुखका अनुसार अदालतको रोक हटेपछि औषधि र उपकरण खरिद प्रक्रिया अघि बढाइनेछ । नगर अस्पताल संयोजकले पनि बजेट नपाउँदा अस्पताल सञ्चालनमा गम्भीर असर परेको स्वीकृति दिएका छन् । स्थानीयवासी भने नगरको राजनीतिक विवादको मारमा स्वास्थ्य सेवा बन्द हुनु सर्वसाधारणमाथिको अन्याय भएको भन्दै चाँडो समस्या समाधान गर्न माग गरिरहेका छन् ।




