रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख अम्बेया खातुनले नेपाल सरकारको नियम कानुन मिचेर भुक्तानी हुनु नपर्ने अडान लिएका छन् ।
नगरपालिकामा टावरलाइट तथा भेपरलाइट जडान कार्यको भुक्तानी रोकेको विषयलाई लिएर उठेको विवादमा कार्यबाहक नगर प्रमुख खातुनले प्रक्रिया पूरा नहुँदै दबाबमा कुनै पनि भुक्तानी पालिकाबाट नहुने स्पष्ट पारेका छन् ।
एउटै प्रकृतिको कामलाई टुक्रा पारेर खरिद गरिएको तथा इबिडिङ्ग नगरिएकाले भेपरलाइट र टावर लाइट जडान कार्यको भुक्तानी नभएको उनको भनाइ रहेको छ ।
नगरपालिकाले २०८१ फाल्गुन १३ गतेका दिन रिन्योवल इनर्जी प्रमोशन प्रा.लि. काठमाडौंसँग नगरपालिका अन्तर्गत सन्तपुर कब्रिस्थानमा टावरलाइट जडानका लागि भ्याटसहित ९ लाख ९१ हजार ४ सय ५७ रुपैयाँ ४८ पैसामा सम्झौता गरेको थियो ।
त्यस्तै भेपरलाइट जडानका लागि २०८२ जेठ १८ मा प्रेस्था ट्रेडर्स एण्ड सप्लायर्ससँग १९ लाख ९५ हजार ८ सय २५ रुपैयाँ दस पैसामा सम्झौता गरेको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवले टावरलाइट जडानका लागि पेश्की रकम समेत दिएको तथा सप्लायर्सले जडान गर्दा नगरपालिकासँग समन्वय नगरेको साथै सामानको गुणस्तर जाँच, जिन्सी दाखिला लगायतका कार्य नहुँदा उक्त योजनाको भुक्तानी रोकिएको जानकारी दिए ।
यता दुवै सप्लायर्सको तर्फबाट जनकपुर उपमहानगरपालिका ८ बस्ने ललितेश्वर श्रीवास्तवले आफूले पालिकालाई ३० प्रतिशत कमिशन नदिएका कारण देखाउँदै नगरपालिकाले भुक्तानी रोकेको आरोप लगाएका छन् ।
श्रीवास्तवका अनुसार सबै कागजात हुँदा समेत आफ्नो भुक्तानी रोकिँदा आफू अन्यायमा परेको दाबी गरे । श्रीवास्तवले लगाएको आरोपको खण्डन गर्नु हुँदै नगरपालिकाका लेखा अधिकृत कामेश्वर सहनीले विद्यमान कानुन बाहिर गएर भुक्तानी सम्भव नरहेको बताए ।
भुक्तानीका लागि प्रक्रिया खोजेपछि सप्लायर्सका प्रतिनिधि श्रीवास्तवले प्रमुख प्रशासकीय अधिकृत यादव, इन्जिनियर मो. फिरोज आलम, जिन्सी शाखा प्रमुख हरेन्द्र यादव तथा आफुविरुद्ध हुँदै नभएको आरोप लगाएर भ्रम सिर्जना गरेको लेखा अधिकृत सहनीले बताए ।
जेनजी आन्दोलनको क्रममा नगरपालिकाको सम्पूर्ण श्रेस्ता समेत जलेको अवस्थामा रितपूर्वक कागजात नपुर्याइ आफुबाट कुनै पनि प्रकारको भुक्तानी सम्भव नरहेको उनको भनाइ रहेको छ ।




