सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका मा खाना र खाजाको नाममा करिब १७ लाख रुपैयाँ खर्च भएको तथ्य बाहिर आएको छ । महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनले गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ‘विविध खर्च’ शीर्षकमा अत्यधिक रकम प्रयोग गरी वित्तीय अनुशासनमै धक्का पुर्याएको निष्कर्ष निकालेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार, कुनै पनि स्थानीय तहले खर्च आन्तरिक आयको सीमा र औचित्यका आधारमा मात्र गर्नुपर्ने स्पष्ट प्रावधान छ । तर कोडैना गाउँपालिकाले सो कानुनी व्यवस्था उल्लङ्घन गर्दै ‘विविध खर्च’ शीर्षकमा रु. १६ लाख ९६ हजार व्यय गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार, गाउँपालिकाको कार्यालय स्तरमा मात्र खानाखाजाका लागि करिब रु. १० लाख खर्च गरिएको छ भने वडा तहमा थप रु. ६ लाख ९६ हजार खर्च भएको देखिन्छ । तर सो रकम कसरी, कहाँ र कुन प्रयोजनका लागि प्रयोग गरियो भन्नेबारे कुनै प्रमाण वा कागजात संलग्न नगरिएको महालेखाको प्रतिवेदनमा स्पष्ट गरिएको छ ।
महालेखा नियन्त्रक कार्यालयको वर्गीकरण र व्याख्या २०७४ अनुसार, ‘विविध खर्च’ शीर्षक अन्तर्गत केवल अतिथि सत्कार, सुरक्षा, प्रतिनिधिमण्डल स्वागत वा मनोरञ्जनका लागि सीमित खर्च गर्न पाइन्छ । तर कोडैना गाउँपालिकाले सो मापदण्डविपरीत अत्यधिक रकम खर्च गरेकोले वित्तीय अनुशासनमा गम्भीर प्रश्न उठेको प्रतिवेदनले औंल्याएको छ ।
स्थानीय तहमा यसरी ‘खाना–खाजाको बहानामा’ लाखौं रुपैयाँ स्वाहा हुँदा पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठ्न थालेका छन् । स्थानीयबासीले यस्तो खर्चप्रति छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्बन्धित निकायको चासो हुनुपर्ने माग गरेका छन् ।




