रौतहट । सोमबार बारा र रौतहटमा भएका आगलागी घटनामा लाखौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बाराको कलैया उपमहानगरपालिका १५ सोनरनियाका ५५ वर्षीय भगवानलाल यादव र ५० वर्षीय दिपनारायण यादवको उखु खेतमा दिउँसो आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको उखु जलेर नष्ट भएको छ ।
त्यसैगरी रौतहट परोहा नगरपालिका ६ का मगर महतोको गोठमा राति आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । उही राति रौतहट, राजपुर नगरपालिका ५ का शेख बच्चुले संचालन गर्ने फर्निचर उद्योग, पानीट्याङ्की क्षेत्रमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा आगलागीको कारण पत्ता लगाउन र थप अनुसन्धान गर्न आवश्यक कदम चालिएको प्रहरीले जनाएको छ ।






