काठमाडौं । मधेस प्रदेश सरकारले पनि स्थानीय तहका कर्मचारीको सूचना व्यवस्थापन प्रणाली Local Level PIS Portal को पहुँच (Access) पाएको छ । बुधबार जनकपुरमा आयोजित कार्यक्रममा कर्मचारी व्यवस्थापन विभागका महानिर्देशक श्रवण कुमार पोखरेल र मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव यमेन्द्र उपाध्यायबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सो अवसरमा निमित्त प्रदेश प्रमुख सचिव लालबाबु कवारीको विशेष उपस्थिति रहेको थियो । महानिर्देशक पोखरेलका अनुसार, यससँगै मधेस प्रदेशका १३६ स्थानीय तहमा कार्यरत ३,९४३ जना समायोजित कर्मचारी तथा अन्य सेवाका ६४९ जना कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् ।
उक्त प्रणालीले कर्मचारीहरूको व्यक्तिगत विवरण, सेवा, तलब, पदोन्नति, सरुवा र अवकाश सम्बन्धी सम्पूर्ण अभिलेखलाई डिजिटल रूपमा व्यवस्थापन गर्न सहयोग पुर्याउनेछ । प्राविधिक कारणले हालसम्म प्रणालीमा आबद्ध हुन नसकेका कर्मचारीहरूलाई पनि यसपछि प्रणालीमा समावेश गरिने जनाइएको छ ।
हालसम्म गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र अहिले मधेस प्रदेशलाई Local Level PIS Portal को पहुँच उपलब्ध गराइसकिएको छ । महानिर्देशक पोखरेलका अनुसार, अब कोशी प्रदेशलाई पनि शीघ्र यो प्रणालीको पहुँच उपलब्ध गराइने तयारी भइरहेको छ ।




