राजविराज । जनप्रतिनिधिबीचको विवादका कारण सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मी चार महिनादेखि तलबविहीन बनेका छन् । साउन महिनादेखि तलब नपाएपछि उनीहरू निरन्तर आन्दोलनमा उत्रिएका छन् ।
गाउँपालिकामा बजेट बाँडफाँट र निमित्त प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिमा देखिएको किचलोले प्रशासनिक कामकाज ठप्प भएको हो । तलब नपाएका कर्मचारीहरूले पटक पटक तालाबन्दी गर्दै आन्दोलन गरेपनि माग नसुनेपछि अघिल्लो मंगलबारदेखि विद्यालयहरू पूर्ण रूपमा बन्द गरिएको छ ।
स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा रोकिएका छन् भने वडा कार्यालयहरूबाट समेत कामकाज बन्द भएको छ । कर्मचारीहरूले अहिले संघर्ष समिति गठन गरी गाउँपालिका कार्यालय अगाडि धर्ना र विरोध कार्यक्रम सञ्चालन गरिरहेका छन् । उनीहरूका अनुसार, लामो समयदेखि तलब नपाउँदा पारिवारिक आर्थिक संकट गहिरिँदै गएको छ ।
बजेट बाँडफाँटमा भएको विवादकै बीच गत असोज ५ गते गाउँसभा आयोजना गरिएको थियो । त्यसपछि असोज ७ गतेको बन्दसत्रमा सहमति जुटेपछि योगेन्द्रप्रसाद यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा सिफारिस गरी मन्त्रालयमा पत्र पठाइएको थियो ।
तर, सोही दिन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले जण्डौलस्थित सम्पर्क कार्यालयबाट अर्का पत्र पठाउँदै वरिष्ठताका आधारमा प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गरेपछि विवाद पुनः तीव्र बनेको हो ।
अध्यक्ष चौधरीको आश्वासनपछि केही समय आन्दोलन स्थगित गरेका कर्मचारीहरूले निमित्त नियुक्तिको विवाद नटुंगिएपछि पुनः आन्दोलन सुरु गरेका हुन् । अध्यक्ष चौधरीले पछि आयुर्वेद शाखाका कर्मचारी सञ्जय साहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेर मन्त्रालयलाई बोधार्थ पठाएका थिए ।
तर, मन्त्रालयले वरिष्ठताका आधारमा ८ औं तहका रमेश चौधरीलाई आर्थिक कारोबारसहितको जिम्मेवारी दिएको थियो । यस निर्णय प्रति असन्तुष्ट अध्यक्ष चौधरीले रमेशलाई कार्यालयमा हाजिर गराउन अस्वीकार गरेका थिए ।
यसबीचमा उपाध्यक्ष कल्पना चौधरीको पहलमा गाउँकार्यपालिकाको बैठक बसेको थियो, जसमा अध्यक्ष चौधरी उपस्थित भएनन् । उपाध्यक्षको भनाइअनुसार, पटक–पटक फोन सम्पर्क गर्दा पनि उनले प्रतिक्रिया दिएका थिएनन् ।
सो बैठकमा असोज ५ गते अध्यक्ष चौधरीले दिएको भनिएको राजीनामा पत्र स्वीकृत गरिएको थियो । राजीनामा पत्रमा ‘पदका लागि आवश्यक समय र ऊर्जा दिन नसक्ने भएकाले स्वेच्छाले पदबाट राजीनामा दिएको’ उल्लेख थियो ।
तर, अध्यक्ष चौधरीले आफूले राजीनामा नदिएको र हस्ताक्षर नक्कली रहेको दाबी गरेका छन् । “निमित्तलाई हाजिर नगराउँदा ममाथि गलत प्रचार गरियो, मैले राजीनामा दिएको छैन,” उनले प्रतिक्रिया दिए । उनले अब कानुनी बाटोबाट अघि बढ्ने बताएका छन् ।
उपाध्यक्ष चौधरी नेपाली कांग्रेसबाट र अध्यक्ष चौधरी नेकपा एमालेबाट निर्वाचित हुन् । दलगत विवादले पनि गाउँपालिकाको प्रशासनिक काम प्रभावित भएको बताइन्छ । यसैबीच, मन्त्रालयले विवादबीचै नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा धीरेन्द्रकुमार यादवलाई पठाएको छ ।
उनलाई अध्यक्ष दिनानाथ चौधरी र कार्यवाहक अध्यक्ष कल्पना चौधरी दुबै पक्षले पालैपालो हाजिर गराएका छन् । प्रमुख प्रशासकीय अधिकृत यादवका अनुसार, अध्यक्ष र कार्यवाहक अध्यक्षबीचको विवादकै कारण तलब वितरण प्रक्रिया रोकिएको हो ।




