बारा । बारास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ४ कलैयामा ठेक्का प्रक्रियामा हेरफेर गरी सरकारी कोषमा हानी पुगेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मामिलामा ३ लाख १६ हजार ५७० रुपैयाँ बिगो देखाउँदै आयोगले तत्कालीन निमित्त प्रमुख किशोरी प्रसाद यादव, लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्कका प्रबन्धक निसान्त सिग्देल र प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेललाई प्रतिवादी बनाएको हो ।
२३ वटा बोलपत्र राष्ट्रिय दैनिकमा नछापिएको पुष्टि
आर्थिक वर्ष २०७९/८० मा जिल्लामा आह्वान गरिएका २३ वटा बोलपत्र सूचना राष्ट्रिय दैनिकमा प्रकाशन नै नभएको आयोगको अनुसन्धानमा खुलेको छ । सूचना लुकाउने उद्देश्यले प्रभाव दैनिकमा मात्र एक प्रति छापिएको र त्यही आधारमा ठेक्का अभिलेख मिलाइएर प्रक्रियालाई गैरकानूनी रूपमा अघि बढाइएको आयोगले बताएको छ ।
झुट्टा बिल–भर्पाइमार्फत सम्पूर्ण रकम भुक्तानी
आयोगले झुट्टा बिल भर्पाइ पेस गरी सान्दर्भिक मिडिया नेटवर्कलाई सम्पूर्ण ३,१६,५७० रुपैयाँ भुक्तानी गरिएको पाएको छ । यसमध्ये ५० हजार रुपैयाँ प्रभाव दैनिकका बजार प्रबन्धक खरेलले व्यक्तिगत रूपमा लिएको प्रमाण पनि अनुसन्धानमा भेटिएको आयोगको दाबी छ ।
सूचना नछापिएको पुष्टि
प्रेस काउन्सिल नेपाल र प्रभाव पब्लिकेसन प्रालिबाट प्राप्त औपचारिक पत्र अनुसार २०७९ फागुन २१ गतेको प्रभाव दैनिकका कुनै पनि पृष्ठमा बोलपत्र सूचना प्रकाशित नै नभएको पुष्टि भएको आयोगले जनाएको छ ।
कानूनी कारबाही माग
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यो कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(१) बमोजिम स्पष्ट अपराध मानिने भएकाले प्रतिवादीहरूलाई कैद सजाय, बिगोअनुसार जरिवाना र सम्पूर्ण रकम असुलउपर गर्न माग गर्दै मुद्दा दायर गरिएको हो । आयोगले ठेक्का प्रकाशन प्रक्रियामै अभिलेख फर्जी बनाइ सरकारी रकम हिनामिना गरिएको यो घटनालाई “उद्देश्यपूर्ण भ्रष्टाचारको स्पष्ट उदाहरण” भनेको छ ।






