नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलाविरुद्ध घुस सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार काठमाडौंस्थित विशेष अदालतमा १२ हजार रुपैयाँ घुस लिएको आरोपपत्र दर्ता गरेको हो ।
बैनाबट्टा सम्बन्धी मुद्दाको फैसलाको प्रतिलिपि निकालिदिने भन्दै सेवाग्राहीसँग घुस मागिएको उजुरी प्राप्त भएपछि आयोगले अनुसन्धान थालेको थियो । त्यसक्रममा आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले निगरानी बढाउँदै धमलालाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ बुझिसकेपछि रंगेहात नियन्त्रणमा लिएको बताइएको छ ।
आयोगका अनुसार धमलाले मागी लिएको रकमकै आधारमा १२ हजार रुपैयाँ बिगो निर्धारण गरिएको छ । उनको विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुलीसहितको मागसहित मुद्दा दायर गरिएको आयोगले जनाइएको छ ।




