वीरगंज । वीरगंज महानगरपालिका ३१ अन्तर्गत केही सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाएर शिक्षा सुविधा दुरुपयोग गरिएको पाइएको छ । वडाध्यक्ष जीतेन्द्र यादवले कात्तिक ३० गते आइतबार वडामा रहेका नौ वटा सामुदायिक विद्यालयको अनुगमन गर्दै दुई विद्यालयको अवस्था भद्रगोल पाएको बताए ।
अनुगमनको क्रममा उन्नति प्राथमिक विद्यालय, इस्लामपुरमा विद्यार्थीहरूको वास्तविक उपस्थिति र हाजिरी रजिस्टरमा उल्लेख गरिएको संख्या बीच ठूलो अन्तर देखिन्छ । विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरू २० जनाभन्दा कम थिए, तर हाजिरी रजिस्टरमा २०० भन्दा बढी विद्यार्थीको उपस्थिति देखाइएको थियो ।
विद्यालयमा उपस्थित शिक्षकहरू पनि कहिले काहीँ मात्र उपस्थित रहँदै आएका थिए । शिक्षिका आरती कुमारीका अनुसार, स्थानीय अभिभावकहरूले बालबालिकालाई विद्यालयमा पठाउँदैनन् र धेरैजसो विद्यार्थीहरू नजिकैका मदरसा वा संस्थागत विद्यालयमा अध्ययन गर्ने गर्छन् ।
बिहानको समय उर्दू भाषा पढ्न जानु पर्ने हुँदा विद्यालयमा उपस्थित संख्या अझै कम हुने गरेको उनले जानकारी दिइन् । विद्यालयका प्रधानाध्यापक वीरेन्द्र प्रसादले आफू हालसालै सरुवा भएर आएको हुँदा विद्यालयको पूर्ण जानकारी नभएको बताए ।
उनले महानगरका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेलाई विद्यार्थी सङ्ख्या कम भएको जानकारी गराइसकेको र अभिभावकहरूलाई पटक–पटक विद्यालय पठाउन अनुरोध गरेको बताए । अनुगमनमा बेलवा टोलको श्रीराम जानकी आधारभूत विद्यालयमा पनि त्यस्तै अवस्था देखिएको छ ।
यस विद्यालयमा बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थीहरू एउटै कक्षामा अध्ययन गर्दै छन् । यसरी साना कक्षामा विद्यार्थीहरूको वास्तविक संख्या कम देखिएपनि इमिस प्रणालीको प्रभावकारिता नहुँदा हाजिरी रजिस्टरमा बढी संख्या देखाइएको पाइएको छ ।
साना कक्षामा विद्यार्थी संख्या बढी देखाएर दिवा खाजा, पुस्तक खरिद, मसलन्द खर्चजस्ता बजेट चलाउने उद्देश्यले यो प्रवृत्ति बढाइएको स्थानीय शिक्षकले बताए । वडाध्यक्ष यादवले अनुगमनको क्रममा विद्यार्थीहरूको संख्या ६० मात्र भएको देख्दा पनि हाजिरी रजिस्टरमा २०० भन्दा बढी देखाइएको पाएको जानकारी दिए ।
वडाध्यक्ष यादवले महानगरको शिक्षा महाशाखाले अनियमिततालाई दुरुपयोगको संरक्षण गर्दै आएको आरोप लगाए । उनले भने, “विद्यालय छ, विद्यार्थी छैनन्, खर्च भइरहेको छ, अनियमितता देखिन्छ, तर कारबाही हुँदैन भने त्यसलाई सेटिङ नभनी के भन्न सकिन्छ ?”
उनका अनुसार वडामा रहेका नौ वटा विद्यालयमध्ये धेरैजसोमा विद्यार्थी कम, तर शैक्षिक गुणस्तर पनि घटेको अवस्था देखिएको छ । यादवले विगत तीन वर्षदेखि शिक्षा महाशाखा प्रमुखहरूसँग अनुगमन र सुधारको माग गर्दा पनि कुनै सुधार नभएको बताए ।




