बारा । बाराको सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेनजी युवाहरूले गरेको प्रदर्शन उग्र बनेको छ । उनीहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहिबार पनि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको हो ।
सम्भावित जनधनको क्षति हुन नदिन भन्दै प्रशासनले बिहिबार दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । तर उक्त कर्फ्यूको प्रभाव देखिएको छैन । सिमरामा तनाव बढ्दै गएको छ । कर्फ्यू अवज्ञा गर्दै प्रदर्शन भइरहेको हो ।
जेनजीका नाममा भएको प्रदर्शनका क्रममा प्रहरीले ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर गरेको छ । प्रहरीमाथि पनि प्रदर्शनकारीले व्यापक रुपमा ढुंगामुढा गरेका हुन् । सोही क्रममा ४ जना जेनजी र ६ जना प्रहरी गरी कूल १० जना घाइते भएका छन् ।
सिमरा चोकबाट प्रदर्शनकारी युवाहरूको एक समूह विमानस्थलतर्फ अगाडि बढ्न खोजेपछि स्थानीयबासीले रोकेका हुन् । उता सिमरा बजारस्थित प्रहरीको बिट पनि जेनजी प्रदर्शनकारीहरूले जलाइदिएका छन् । उनीहरुले उता नेकपा एमालेको कार्यालयका सामान बाहिर निकालेर जलाएका हुन् ।
एमालेका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गर्न आलटाल गरेको आरोपसहित जेनजीका नाममा भएको प्रदर्शनमा विध्वंशक भएको छ ।




