सर्लाही । सर्लाहीमा ट्याक्टरको ट्रलीमा चढेका चार वर्षीय बालकको दुर्घटनामा मृत्यु भएको छ । मृतक बालक हरिपुर्वा नगरपालिका ३ धनकौलका राम प्रवेश रायका छोरा आर्यन राय हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, गएराति अस्थायी नम्बर प्लेट (ना.अ.प.अ.) ३७८ नम्बरको ट्याक्टरको ट्रलीमा चढेका बालक घरमै पार्किङ गर्दा खस्दा ट्रलीको चक्काले किचेर मृत्यु भएको हो ।
दुर्घटनापछि चालक फरार भएको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मृतक बालकको शव पोस्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ । दुर्घटना सम्बन्धी अनुसन्धान भइरहेको छ ।




