मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका ८ बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
वीरगञ्जबाट काठमाडौंतर्फ औषधि लोड गरी गइरहेको ना ३ ख ३१९२ नम्बरको ट्रक आज बिहान करिब ५ बजेको समयमा अचानक ब्रेकफेल भई अनियन्त्रित रुपमा सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय, ठिंगन मकवानपुरले जनाएको छ ।
दुर्घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रमुख प्रहरी निरीक्षक रमाकान्त प्रसाद यादवको कमाण्डमा ट्राफिक प्रहरी सहितको टोली खटिएको थियो ।
प्रारम्भिक विवरण अनुसार दुर्घटनामा परेका बारा जिल्ला, जितपुर–सिमरा उपमहानगरपालिका १ निवासी ४० वर्षीय चालक विनोद माझी सकुशल प्रहरी सम्पर्कमा रहेका छन् ।
ट्रक सडकमै पल्टिएकोले कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध बनेको छ । घटनास्थलमा ट्रक हटाउने कार्य तीव्रगतिमा भइरहेको तथा अतिरिक्त प्रहरी फोर्स समेत परिचालन गरिएको ठिंगन प्रहरीले जनाएको छ ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ८ किलोमिटर उत्तर पर्ने बताइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुरतचन्द्र बोहराका अनुसार आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया अनुसरण गर्दै सडक सुचारु गर्ने प्रयास जारी राखिएको जनाएको छ ।






