रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ४ देउराली चोकबाट प्रहरीले ठूलो मात्रामा नियन्त्रित लागूऔषध ट्रामाडोल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय चपुरको संयुक्त टोलीले शुक्रबार साँझ ५ हजार २ सय ५० वटा ट्रामाडोल ट्याब्लेट फेला पारेको हो ।
प्रहरी टोलीलाई देखेपछि ना २५ प ६२८ नम्बरको मोटरसाइकल लिएर गौरबाट चपुरतर्फ आउँदै गरेका चालकले मोटरसाइकल छाडेर फरार भएका थिए । पछि प्रहरीले मोटरसाइकलको तलासी गर्दा सोहीमा रहेको झोलाबाट ठूलो मात्रा लागूऔषध बरामद गरेको जनाएको छ ।
हाल फरार चालकको खोजी जारी रहेको जिल्ला प्रहरीले जनाएको छ । साथै, यस घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।






