राजविराज । मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । सप्तरीको राजगढ गाउँपालिका ६ फकिरा घर भई राजविराज नगरपालिका १६ बोरिया बस्दै आएका मुकेश यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
उन्नाइस वर्षीय यादवको उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताए । प्रहरीका अनुसार दुई दिनअगाडि बोरियास्थित छिमेकी सरोकुमारी साहको मोबाइल हराएको थियो ।
उक्त मोबाइल मुकेशले नै चोरी गरेको भन्दै साहले कुटपिट गरेपछि घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको हो । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




