सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा क्रिकेट खेलेर घर फर्किएका दुई दाजुभाइमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन् ।
शम्भुनाथ नगरपालिका १ का १३ वर्षीय राकेश यादव र १६ वर्षीय रुपेश यादव शनिबार दिउँसो घर नजिकैको खेल मैदानमा क्रिकेट खेलेर फर्किएका थिए । घर पुगेपछि केहीबेरमै राकेश अचानक बेहोस भएर ढले र उनको मृत्यु भयो ।
दाजु रुपेश पनि बेहोस भएपछि परिवारले उनलाई तत्काल उपचारका लागि लहानस्थित अस्पतालमा लगेको हो । राकेशका बुवा किसुनदेव यादवका अनुसार खेलपछि दुवै छोराले सामान्य थकान भएको बताएपनि घर आइपुग्नेबित्तिकै राकेश ढलेका थिए ।
“सबै कुरा ठिकै थियो, एकैछिनमै बेहोस भएर ज्यान गयो,” उनले दुख व्यक्त गरे । रुपेशको अवस्था भने अस्पतालमा उपचार भएपछि मात्र स्पष्ट हुने बताइएको छ । घटनाको कारण बारे यकिन खुल्न सकेको छैन ।
स्थानीयहरूले खेल मैदानको छेउमा रहेका झाडी–झारमा कुनै विषालु सर्पले टोकेको हुन सक्ने अनुमान गरेका छन् । केहीले भने घर फर्कने क्रममा बाटोमै विषालु पदार्थ मिसिएको खानेकुरा खाएको हुन सक्ने आशंका प्रकट गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले मृत्युको वास्तविक कारण पोस्टमार्टमपछि मात्रै पुष्टि हुने बताउँदै घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।




