रौतहट । यमुनामाई गाउँपालिकाको सरकारी गाडी लामो समयदेखि सडकछेउमै छाडिएपछि स्थानीयवासी आक्रोशित हुन थालेका छन् । पालिका अध्यक्ष मोहम्मद इर्शादले प्रयोग गर्दै आएका ना १ झ १६५२ नम्बरको स्कारपियो अत्यधिक प्रयोग र बेवास्ताका कारण बिग्रिएपछि गौर–चपुर सडकखण्ड अन्तर्गत हजमिनिया चोक नजिकै खुलेआम छाडिएको स्थानीयको आरोप छ ।
स्थानीयका अनुसार अध्यक्ष इर्शादले नयाँ निजी कार प्रयोग गर्न थालेपछि सरकारी स्कारपियो प्रयोगविहीन बनिरहेको थियो । गाडी बिग्रिए पछि महिनौंदेखि सडकमै छाडिएकोले यसलाई ‘बेवारिसे’ जस्तै बनाइएको भन्दै उनीहरू आक्रोशित छन् । यतिमात्र होइन, गाडी चलेको छैन तर दैनिक करिब २५ लिटर इन्धन खर्च भएको देखाइने गरेको स्थानीयले दाबी गरेका छन्, जसले दुरुपयोगको शंका अझ बढाएको छ ।
गाडी ‘सार्वजनिक सवारी’ भनेर दर्ता गरिए पनि केही जनप्रतिनिधि र कर्मचारीले व्यक्तिगत स्वार्थमा प्रयोग गर्दै आएको आरोप पनि लागेको छ । मर्मतका नाममा लाखौँ रुपैयाँ खर्च भइसके पनि समस्या समाधान नभएपछि अन्तत: गाडी सडकछेउमै थन्किएको जनाइएको छ । पटक–पटक दुर्घटनामा परेको इतिहास समेत रहेको यो गाडी सुरक्षित स्थानमा राख्नुको साटो खुला स्थानमा राख्दा पार्टपुर्जा चोरी वा अन्य क्षति हुने जोखिम रहेको स्थानीयको तर्क छ ।
“यो त पूर्ण रूपमा सरकारी सम्पत्तिको दुरुपयोग हो । गाडी चल्दै चलेन भने ग्यारेजमा राखिनुपर्छ । यसरी सडकमै छाडेर जिम्मेवारीबाट छुट्टिन मिल्दैन,” स्थानीयवासीले गुनासो गर्दै भने । यस विषयमा गाउँपालिका अध्यक्ष इर्शादले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । स्थानीयहरू भने पालिका नेतृत्वबाट स्पष्ट स्पष्टीकरण र ठोस कदमको प्रतिक्षामा छन् ।




