सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ८ डुमडुमे मन्दिर परिसरमा एक पुरुषले आफ्नै शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका छन् । आगलागीबाट गम्भीर घाइते बनेका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
मंगलबार राति करिब ७:५० बजे तिर ५५ वर्षीय पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएको अवस्थामै स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि इप्रका लालबन्दीका प्रहरी निरीक्षक विरेन्द्र सिंहको कमान्डमा पुगेको प्रहरी टोलीले उद्धार गर्ने क्रममा उनको करिब ९० प्रतिशत शरीर जलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गम्भीर घाइते अवस्थाका उनलाई तत्काल लालबन्दीबाट उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । उपचारकै क्रममा बुधबार बिहान २:१० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डीएसपी सरोज राईले बताए ।
प्रहरीका अनुसार मृतकको पहिचान झापा, गौरादह नगरपालिका २ निवासी ५५ वर्षीय सूर्यप्रसाद पोखरेलका रूपमा भएको छ । मृतकको मोबाइलबाट प्राप्त विवरणका आधारमा उनका भान्जा कुमार ढकालले सनाखत गरेका हुन् ।
डीएसपी राईका अनुसार मृतकका परिवारलाई जानकारी गराइएको छ । आत्मदाहको कारण र घटनाका सबै पक्ष बारे आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।




