पर्सा । पर्सा जिल्लाको ठोरी गाउँपालिकाका शिक्षक दलबहादुर स्याङ्बो र उनका तीनै छोराको उपलब्धि अहिले सबैको चर्चा बन्दैछ । तीनै छोराले चिकित्साशास्त्रमा प्रवेश पाएपछि स्याङ्बोको पुरानो परिचय ‘मास्टरसाब’बाट अहिले ‘डाक्टरसाबका बुबा’मा रूपान्तरण भएको छ ।
ठोरीका चौतारा, चोक, चिया पसल र सामाजिक सञ्जालमा समेत उनी र उनका छोराहरूको चर्चा व्यापक रूपमा भइरहेको छ । करिव तीन दशकदेखि शिक्षण पेशामा संलग्न स्याङ्बो ठोरी क्षेत्रकै चर्चित शिक्षक हुन् र हाल ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक पनि हुन् ।
अङ्ग्रेजी विषयका शिक्षक स्याङ्बोका तीनै छोराले पालैपालो पूर्ण छात्रवृत्तिमा नाम निकालेर चिकित्सा शास्त्र अध्ययन सुरु गरेका छन् । जेठा छोरा छिरिङ स्याङ्बो एमबिबिएस सकेर बेलायतमा थप अध्ययनरत छन् भने माइला छोरा विश्वजीत भैरहवामा एमबिबिएस अन्तिम वर्षमा छन् ।
कान्छा छोरा अर्जुनले पनि चिकित्सा शिक्षा आयोगको समावेशी क्लस्टरमा पूर्ण छात्रवृत्तिमा नाम निकालेर चिकित्सक बन्ने तयारीमा छन् । तीनै छोराले १२ कक्षासम्म सामुदायिक विद्यालयमै पढेका हुन् । यसले प्रमाणित गरेको छ कि मेहनत र लगनशीलताले साधारण पृष्ठभूमिका विद्यार्थी पनि असाधारण उपलब्धि हासिल गर्न सक्छन् ।




