रामेछाप । रामेछापको मन्थली नगरपालिका ९ बाङ्गेसल्लामा जङ्गली जनावरको आक्रमणबाट ६५ वर्षीया गङ्गामाया तामाङको मृत्यु भएको छ । घरबाट गोठतर्फ गएकी तामाङलाई बाघ वा चितुवाले आक्रमण गरेको हुन सक्ने स्थानीयको आशङ्का रहेको वडा सदस्य धनलाल तामाङले जानकारी दिए ।
घरमा एक्लै बस्दै आएकी तामाङको शव पुरानागाउँ–भटौली सडक खण्डअन्तर्गत मन्थली नगरपालिका ७ र ९ को सिमाना रहेको बाङ्गेसल्ला पिपलडाँडा नजिकै शनिबार बिहान चिथोरिएको अवस्थामा फेला परेको छ । गला फूटेको र शरीरका विभिन्न भागमा गम्भीर चोटसहित शव भेटिएको वडा सदस्य तामाङले बताए ।
उनका अनुसार घटना स्थल तामाङको गोठ रहेको पिपलडाँडाबाट करिब १०० मिटर दूरीमा पर्छ । शुक्रबार साँझ गोठमा जाँदै वा फर्कँदै गर्दा उनी बाघ वा चितुवाको आक्रमणमा परेको हुन सक्ने अनुमान गरिएको छ । घटना बारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।






