वीरगंज । पर्साका किसानहरू पछिल्लो समय पुनः परम्परागत गोबरमलतर्फ आकर्षित भएका छन् । सहकारी मार्फत कृषि सामाग्री कम्पनी तथा साल्ट ट्रेडिङमार्फत वितरण हुँदै आएको रासायनिक मल अभाव हुने, समयमा नपाइने र कालोबजारीमै पनि प्राप्त गर्न कठिन भएको कारण किसानहरूको ध्यान गोबरमलतर्फ फर्किएको हो ।
रोपाइँ, गोठमेल र अन्य कृषि चक्रमा आवश्यक हुने युरिया, डिएपी, पोटासजस्ता मल समयमै नपाएपछि किसानहरूले घरमै गोबर भण्डारण गर्ने तथा भण्डारण गरिएकै गोबर खरिद गरेर खेतमा प्रयोग गर्ने चलन फेरि बढेको छ ।
विशेष गरी पशुपालन गर्ने किसानहरूले गोबर खाल्डो खनेर सँगाल्ने, आवश्यकता अनुसार प्रयोग गर्ने र बाँकी रहेको गोबर अन्य किसानलाई बेच्न थालेका छन् ।
छिमेकी भारतबाट मल ल्याउँदा सुरक्षातर्फ कडाइ बढ्नु, बजारमा उपलब्धता कमजोर हुनु र मनमानी मूल्यले किसानलाई थप समस्या दिइरहेकाले गोबरमल किसानहरूको प्रमुख विकल्प बन्दै गएको पर्सागढी ४ का एक किसानले बताए ।
उनका अनुसार रासायनिक मलजत्तिकै उत्पादन नआउला तर गोबरमल सजिलै उपलब्ध हुने भएकाले यसको प्रयोग तीव्र रूपमा बढेको छ । गोबरमल प्रयोग गरी उत्पादित बालीको बजार माग समेत केही वर्षयता बढेको उनको भनाइ छ ।
हाल पर्सामा गोबरमल प्रति ट्याक्टर करिब चार हजार पाँच सय रुपैयाँमा बिक्री भइरहेको छ । पर्सागढी नगरपालिकासँगै पटेर्वासुगौली, जीराभवानी, सखुवाप्रसौनी, ठोरी, जगरनाथपुर, पोखरिया, बहुदरमाई र वीरगंज महानगरका विभिन्न वडामा पनि गोबरमल प्रयोग गर्ने किसानहरूको संख्या उल्लेख्य रूपमा बढेको स्थानीय बताउँछन् ।






