वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चिसो मौसम सुरु भएसँगै वायु प्रदूषण तीव्र रूपमा बढ्न थालेकाले विशेष सावधानी अपनाउन महानगरवासीलाई सार्वजनिक अनुरोध गरेको छ । आइतबार महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखाले सार्वजनिक सूचना जारी गर्दै चिसो मौसम सुरु भएसँगै वायु प्रदूषण तीव्र रूपमा बढ्न थालेकोले विशेष सावधानी अपनाउन महानगरवासीलाई अपिल गरेको हो ।
महानगरले खुल्ला स्थानमा फोहोरजन्य वस्तु, कृषि अवशेष तथा प्लास्टिकजन्य वस्तु जलाउने काम नगर्न अनुरोध गरेको छ । पेट्रोलियमजन्य पदार्थ तथा कोइला जस्ता ऊर्जा स्रोतको अनावश्यक प्रयोग नगर्न, निर्माण कार्यमा अत्यधिक धुलो उड्ने कार्य नगर्न, प्रदूषण बढाउने गतिविधि र अनियन्त्रित उत्सर्जनजस्ता कामहरू तत्काल रोक्न महानगरपालिकाले आग्रह गरेको छ ।
वायु प्रदूषणले विशेष गरी बालबालिका, दीर्घरोगी, दम तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्ति र गर्भवती महिलामा गम्भीर असर पार्ने भएकाले प्रत्येक नागरिकले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्ने महानगरले जनाएको छ । साथै प्रदूषण नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै न्यूनीकरणमा सहकार्य गर्न पनि महानगरको अनुरोध छ ।




