काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा कार्यरत अधिकारीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक लेनदेनमा गम्भीर अनियमितता र बेरुजु देखिएको भन्दै आयोगले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सात जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार प्रतिवादीमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, सिनियर अहेव महेन्द्र प्रसाद यादव, कृष्ण प्रसाद तिमिल्सिना, प्रमेश्वर यादव, लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुल्सीराम पौडेल र लेखा सहायक गिरीराज गौतम रहेका छन् ।
आयोगले सिनियर अहेव महेन्द्र प्रसाद यादवले आर्थिक वर्ष २०७५/७६ देखि विभिन्न कामका लागि पालिकाबाट पेश्की लिएको तर समयमै फछ्यौट नगरेको, जसका कारण ४६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको बेरुजु देखिएको जनाएको छ ।
यीनै अनियमितता तथा रकम हिनामिना गरेको आशंकामा उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ । अख्तियारका अनुसार अब यो प्रकरणमा विशेष अदालतले कानुनी प्रक्रिया अघि बढाउनेछ ।




