वीरगन्ज । वीरगन्ज महानगरपालिका ३१ इस्लामपुरस्थित उन्नति प्राथमिक विद्यालयमा दर्ता गरिएको विद्यार्थी संख्या र वास्तविक उपस्थिति बीचको ठूलो असमानता परीक्षाले पुष्टि गरेको छ । विद्यालयले रजिस्टरमा करिब डेढ सय विद्यार्थी भएको दाबी गरेपनि मंगलबार सम्पन्न परीक्षामा जम्मा नौ जना मात्र सहभागी भएपछि वर्षौंदेखि चल्दै आएको भर्ना सम्बन्धी अनियमितता खुलेको हो ।
तर समस्या उन्नति प्राथमिक विद्यालयमा मात्रै सीमित छैन । वडामा रहेका अधिकांश सामुदायिक विद्यालयको अवस्था समेत उस्तै देखिएको छ । हालै मात्र प्रकाशनमा आएका तथ्यहरू अनुसार हाजिरी रजिस्टरमा उच्च विद्यार्थी संख्या देखाइए पनि कक्षा कोठा र परीक्षामा वास्तविक उपस्थिति निकै न्यून रहेको देखिएको छ । यही अभ्यास परीक्षाको समयमा फेरि प्रमाणित भएको छ ।
यसै वडामा रहेको बालविकास आधारभूत विद्यालयको रजिस्टरमा तीन सय विद्यार्थी दर्ता गरिए पनि परीक्षामा आधा संख्याको उपस्थिति पनि देखिएन । श्रीराम जानकी आधारभूत विद्यालयमा १५० भन्दा बढी विद्यार्थी दर्ता गरिएको भएपनि परीक्षामा ५५ जना मात्र उपस्थित रहे । नेपाल राष्ट्रिय आधारभूत विद्यालय, बेलवा प्रसौनीको रजिस्टरमा ४२६ भन्दा बढी विद्यार्थी देखाइए पनि परीक्षामा करिब दुई सयजति मात्र सहभागी भए ।
त्यस्तै लक्ष्मीदेवी हंसवाहिनी मावि, कोनियामा हाजिरी रजिस्टरले चार सयभन्दा बढी विद्यार्थी देखाए पनि परीक्षामा अढाई सयभन्दा बढी विद्यार्थी पनि देखिएनन् । वीरगन्ज ३१ मा नौ वटा सामुदायिक विद्यालय रहेका छन् र सबै विद्यालयमा विद्यार्थी संख्या बढाएर देखाउने तर वास्तविक उपस्थिति अत्यन्तै कम हुने समस्या समान रूपमा पाइएको स्थानीयहरूले बताएका छन् ।
वडाध्यक्ष जीतेन्द्र यादवका अनुसार उनले विद्यालयहरूको यस्तो अवस्था बारे निरन्तर अनुगमन गरी महानगरको शिक्षा महाशाखालाई जानकारी गराउँदै आएपनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । उनका अनुसार केही प्रधानाध्यापक र शिक्षा महाशाखाका अधिकारीबीच ‘सेटिङ’ भएकै कारण वडाबाट उठाइएका गुनासो बेवास्ता हुने गरेको छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक हुँदै आएका तथ्यहरूका आधारमा वडास्तरबाट बारम्बार ध्यानाकर्षण गराए पनि शिक्षा महाशाखाले छानबिन नगरेको आरोप वडाध्यक्ष यादवले दोहोर्याएका छन् । विद्यालयहरूको बिग्रँदो अवस्था, कागजमा मात्र विद्यार्थी संख्या बढाएर देखाउने प्रवृत्ति र अनुगमनमा देखिएको वास्तविकता मिलेर वडामा दीर्घकालीन अनियमितता रहेको स्पष्ट संकेत देखिएको छ ।




