मोरङ । मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ तरिगामास्थित मझारेमा दाजुले छुरा प्रहार गर्दा भाइको मृत्यु भएको छ । बुधबार राति आपसी विवादमा ३० वर्षीय राजुकुमार साहले छुरा प्रहार गर्दा २८ वर्षीय श्रवण साहको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
घटनामा गम्भीर घाइते भएका श्रवणलाई तत्कालै विराट मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा रहेका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार आपसी विवाद चर्किएपछि राजुले श्रवणको छातीमा छुरा प्रहार गरेका थिए । मृतक र अभियुक्तको घर नजिकै रहेको र घटनापछि राजुकुमार भागेको प्रहरीले जनाएको छ ।
घटनास्थल भारतीय सीमाबाट करिब ५० मिटरमै भएकाले राजु छुरा प्रहारपछि भारततर्फ भागेको प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको र भारतीय सुरक्षा निकायसँग समन्वय गरी आरोपीलाई पक्राउ गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।






