सर्लाही । खोलामा गाडिएको अवस्थामा गत मंगलबार राति फेला परेको किशोरीको शव परिवारले जिम्मा लिन मानेका छैनन् । गत बुधबार नै पोस्टमार्टम भइसकेको शव अझै अस्पतालमै छ ।
किशोरीको बलात्कारपछि हत्या भएको दाबीसहित घटनामा संलग्नलाई हदैसम्मको कारबाही र उचित क्षतिपूर्ति माग आफन्तले गर्दै आएका छन् । मृतकका बाबु राजेश भुजेलले भने ‘अनुसन्धानमा लापरबाही गर्लान्, न्याय नपाइने हो कि भन्ने चिन्ताले शव जिम्मा लिन हतार नगरेको हो ।’
साउन ३१ मा बेपत्ता लालबन्दी–१७ रानीगन्जकी १४ वर्षीया प्रियंकाको शव घरदेखि तीन किलोमिटर पर कालिन्जोर खोलामा गाडिएको अवस्थामा फेला परेको थियो ।
किशोरी बेपत्ता भएसँगै लुकेका त्यही गाउँका १८ वर्षीय किसन साह र १९ वर्षीय अनिश दाहाललाई प्रहरीले पक्राउ गरेपछि शव भेटिएको थियो । प्रहरीले सोमबार पत्रकार सम्मेलन गर्दै दुवैलाई सार्वजनिक गरेको छ ।
किशोरीको दाहालसँग प्रेम सम्बन्ध रहेको र गाउँ समाजले थाहा पाउने डरले हत्या गरेको हालसम्मको अनुसन्धानमा खुलेको एसपी सन्तोषसिंह राठौरले बताए । मृतकको भिसेरा, भजाइनल स्वाबको रिपोर्ट र फोन कल डिटेल आउन बाँकी नै रहेकाले ती प्राप्त भएपछि थप तथ्य खुल्ने उनले बताए ।






