काठमाडौं । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख भोला प्रसाद थापासमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुख थापासमेत ६ जना र जयकाली ड्रिलिङ्गस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ११ लाख ११ हजार ८ सय ४४ रुपैयाँ बिगो माग गरिएको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख थापा,तत्कालीन इन्जिनियर बसन्त कुमार दुलाल,तत्कालीन अधिकृत छैटौं माधव प्रसाद तिमिल्सेना, तत्कालीन सब-इन्जिनियर नुतन आचार्य र तत्कालीन लेखापाल मनोज विष्टविरुद्ध आरोप पत्र दायर भएको हो ।
जय काली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि र सोका प्रबन्ध निर्देशक शेखर शर्मालाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ । डिप ट्युबवेल निर्माणमा थापासहित ६ जनाको मिलेमतोमा कार्यालयलाई ११ लाख ११ हजार ८४४ रुपैयाँ हानि नोक्सानी गरी भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कसूर गरेको उनीहरूमाथि आरोप छ । उनीहरू विरुद्ध जनही सोही रकम बराबरको बिगो र सजायको माग गरिएको अख्तियारले जनाएको छ ।




