बारा । बाराका निजगढ नगरपालिका ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहले डिभिजन वन कार्यालय बाराको सहयोगमा प्राङ्गारिक कम्पोस्ट मल उत्पादन कार्य सुरु गरेको छ । वन क्षेत्रमा फोहोरका रूपमा रहेको अनावश्यक झाडी, बुट्यान र लहरा प्रजातिलाई काटी साना टुक्रामा परिणत गर्ने मेशीन प्रयोगबाट मल उत्पादन गरिने भएको छ ।
वन समूहका उपभोक्ताहरूले वनमा रहेका वनमारा, ताप्रे, माइकेनिया लगायतका अनावश्यक झाडी र बुट्यान संकलन गरी मेशीनमार्फत कम्पोस्ट मल उत्पादन गर्ने प्रक्रिया पूर्ण गरेका छन् । यसले वन समूहका लागि थप आर्थिक आम्दानीको स्रोत सिर्जना गर्ने अपेक्षा गरिएको छ । साथै, अन्य उपभोक्ताहरूका खेतबारीमा प्रयोग हुने कम्पोस्ट मलले खेतीबाली उत्पादन वृद्धिमा योगदान पुर्याउने देखिएको छ ।
डिभिजन वन कार्यालय, बाराका प्रमुख डिएफओ राजीवकुमार झाले बताए अनुसार, वन क्षेत्रमा अत्यधिक झाडी र बुट्यानले साना रूखबिरुवा र रूखको बढाइमा बाधा पुर्याउने भएकाले, मेशीन प्रयोगले वन सफाइसँगै फोहोरलाई मलमा परिणत गर्ने दोहोरो फाइदा पुग्ने छ ।
यस प्रविधिको प्रयोग जिल्ला क्षेत्रमा पहिलोपटक भएको हो र आवश्यकताअनुसार अन्य सामुदायिक वन समूह र साझेदारी वन समितिहरूमा पनि प्रयोग गर्न प्रोत्साहित गरिने झा बताउँछन् ।
जनज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खड्गबहादुर मोक्तानका अनुसार, मेशीन खरिदका लागि डिभिजन वन कार्यालयले कुल रकमको ५० प्रतिशत अनुदान दिएको छ भने बाँकी रकम वन समूहले लगानी गरी मेशीन खरिद गरेको हो । मेशीन खरिदमा मूल्य अभिवृद्धि कर, गाडी भाडासहित कुल रु ४ लाख १५ हजार खर्च भएको जनाइएको छ ।
पहिला झाडी सफाइका लागि उपभोक्ता र कामदारहरूलाई खटाउँदा वार्षिक लाखौं रुपैयाँ खर्चिनुपर्ने गरेकोमा, अब मेशीन प्रयोगले खर्च घटाउने र अतिरिक्त आम्दानी सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
यस नयाँ प्रविधि प्रयोगबाट अब वनमारा, माइकेनिया र झारपात जलाउँदा उत्पन्न हुने धुवाँ र वायु प्रदूषण रोक्ने पनि सम्भव भएको छ । सामुदायिक वन समूह र स्थानीय कृषकहरू यस कार्य प्रति उत्साहित देखिएका छन् ।






