सर्लाही । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ डाँडा टोलबाट २ सय १२ ग्राम प्रतिबन्धित लागूऔषध हिरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गएको साँझ करिब ६ बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले लागूऔषध लुकाइछिपाइ राखेको आशङ्कामा खोज तलासी गरेको थियो ।
लालबन्दी ५ स्थित निर्माणाधीन अवस्थामा रहेको सुवास लामिछानेको घरमा खान तलासी गर्दा भुइँ तलाको पश्चिम–दक्षिणतर्फ रहेको कोठाको पूर्वी भित्तामा रहेको इँटाको प्वालभित्र कालो प्लास्टिकमा पोका बनाई लुकाइछिपाइ राखिएको अवस्थामा सेतो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक परीक्षणका क्रममा उक्त पदार्थ प्रतिबन्धित लागूऔषध हिरोइन जस्तो देखिएको थियो । स्थानीय व्यक्तिहरूको रोहबरमा तौल गर्दा उक्त सेतो धुलो पदार्थको तौल २ सय १२ ग्राम रहेको प्रहरीले जनाएको छ ।
सोही क्रममा घरधनी ३४ वर्षीय सुवास लामिछाने, जो ईश्वरपुर नगरपालिका ३ भक्तिपुर घर भई हाल लालबन्दी ५ मा बसोबास गर्दै आएका थिएलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका लामिछानेविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।






