काठमाडौं । करिब तीन (२०७५ पुस २३) वर्षअघि गायिका विष्णु माझीका श्रीमान् सुन्दरमणि अधिकारीले उनलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जा लिएर गए । त्यस समय गायिका माझी घरेलु हिंसाको शिकार भएको, उनलाई बन्धक बनाइएको चर्चा थियो । धेरैले उनलाई सुन्दरमणिको पञ्जाबाट उद्धार गर्नुपर्ने आवाज उठाएपछि प्रहरीले अनुसन्धानका लागि बोलाएको थियाे ।
उनी गुमनाम भएको चर्चापछि प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले चासो देखाएका थिए । प्रजिअ निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती स्याङ्जा पुगेका हुन् । गायक दम्पति नै प्रहरी कार्यालयमा हाजिर भएर फर्किएपछि एसपी लम्सालले भनेका थिए, – ‘विष्णु माझी गुमनाम हुनुभयो, बेपत्ता हुनुभयो भन्ने समाचारहरु आए । त्यसैले के कस्तो हो भन्ने बुझ्नका लागि हामीले उहाँहरुलाई बोलाएका हौँ । तर उहाँहरुले आफ्नो सम्बन्ध राम्रै भएको र मिडियामा आएजस्तो गुमनाम नभएको भन्नुभयो ।’
सोधपुछका क्रममा सुन्दरमणि अधिकारीले भनेका थिए, ‘हामी एउटा उद्देश्यमा छौँ, उद्देश्य पूरा नभएसम्म सार्वजनिक हुन सक्दैनौँ । उद्देश्य पुरा भएपछि हामी आफैं मिडियामा आउँछौँ ।’ जिप्रकामा उपस्थित हुँदा पनि उनले मास्क लगाएकि थिइन् । मास्क खाेल्न लगाएर हेर्दा उनकाे अनुहारमा कुनै किसिमकाे दाग, घाउचाेट, खत नदेखिएकाे प्रहरीले जनाएका थिए ।
तीन वर्षपछि फेरि पनि गायिका माझीकाे खाेजी सुरू भएकाे छ । विष्णु माझीको पछिल्लो गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा’ सार्वजनिक भएलगतै टिकटक र युट्युबमा उनकाे चर्चा चुलिएकाे छ । उनलाई खोज्नुपर्ने समाचारहरु पुनः छ्याप्छ्याप्ती निस्किन थालेका छन् । उनले गाएका सबै गीत करोड भिउज नाघेका हुन्छन् । तर उनी यति चर्चित भएर पनि गुमनाम जतिकै छिन् ।
अहिलेसम्म उनको एउटा अन्तर्वार्ता समेत छापिएको छैन । उनी मिडियामा आउनै चाहँदिनन् या नल्याइएको हो, यो अझै खुल्न सकेको छैन, उनका फ्यानहरु यही कुरा जान्नँ चाहन्छन् । उनी बाहिर आएर हाँसेको, बोलेको, गाएको देख्न चाहन्छन् । तर गायिका माझी भने गीत रेकर्डिङका लागि जाँदा समेत मुखमा मास्क लगाएर जान्छिन्, स्टुडियोमा पर्दा लगाउँछिन् अनि मात्रै गाउँछिन् । गीत रेकर्ड गर्नेले सम्म पनि उनको अनुहार देख्न नपाउने उनको गीत रेकर्ड गरेकाहरु बताउँछन् ।
उनी घरबाट बाहिर समेत ननिस्कने उनका छिमेकीहरु बताउँछन् । उनी घरबाट निस्किदा कालो कपडाले नाक, मुख र अनुहार अनिवार्य ढाक्ने गर्छिन्, आँखा मात्रै देखिन्छ । गीत गाइसकेपछि पारिश्रमिक रकम समेत उनका श्रीमान् अधिकारीले बुझ्ने गरेका छन्, रेट तोक्ने काम पनि उनैले गर्दै आएका छन् । गायिका माझी कसैसँग बोल्दिनन् । उनको घर कहाँ छ, कहाँ बस्छिन् यो समेत कसैलाई थाहा छैन् । उनको गुमनाम एक रहस्य बनेको छ !
उनले गाएका गीतको भिडियोहरुमा समेत उनको एउटै मात्र पोष्टर देखिन्छ । उनी आफैँ बाहिर आउन नचाहेकी हुन् वा उनको श्रीमानले गुमनाम बनाएका हुन्, यो सबैलाई चासोको विषय बनेको छ । इन्टरनेटको यो दुनियाँमा सामाजिक सञ्जाल नचलाउने कमै हुन्छन्, जसमा उनी पनि पर्छिन् । चर्चित गायिकाले आफूलाई किन एक कुनामा लुकाएको होला, के उनलाई कन्सर्टतिर जान मन लाग्दैन ? आफ्ना प्रसंसकको नजिक जान, खुलेर बोल्न मन लाग्दैन वा प्रतिबन्ध लगाइएको हो ? यी प्रश्न र कौतुहलता अहिले सबैको मनमा छ ।
पोखराका सुन्दरमणी उबेलाका चर्चित गायक कहलिए पनि यतिबेला उनको माग पटक्कै छैन । उनका गीतहरु त्यति सार्वजनिक भएको पाइँदैन । माझी र अधिकारीको भेट २०६१ सालको पाल्पा महोत्सवमा भएको थियो । त्यहाँ भएको लोकदोहोरी प्रतियोगीतामा उनीहरुले भाग लिएका थिए, त्यहीँबाट चिनजान सुरु भएको हो ।
सुन्दरमणी सँगको भेटपछि माझीको करियर पनि अगाडी बढेको बताइन्छ । मेला महोत्सवमा सँगसँगै हिँड्दै गर्दा एक अर्काप्रति प्रेम अंकुराएपछि दुबैले २०६९ साल मंसिरमा विवाह गरेकाे भन्ने गरिन्छ । तर आजसम्म उनीहरुको विवाहको कुनै पनि तस्बिर सार्वजनिक भएको छैन । बिवाहको केही समयपछि भने अधिकारीले भन्दा माझीले झनै बढी चर्चा बटुल्न थालिन् र बिस्तारै बिस्तारै उनी गुमनाम हुँदै गइन् । त्यतिबेला पनि उनकै डिमाण्ड र रेट माथि थियो भने अहिले पनि उनकै रेट बढी छ सांगितिक बजारमा । तर महंगो भएकै कारण उनका गीत फाट्टफुट्ट मात्रै आउने गरेका छन् ।
सुन्दरमणिले बन्धक बनाएर राखेकाे भन्ने गरेपनि यसकाे ठाेस प्रमाण भने कसैसँग छैन । त्यसैले पनि उनीमाथि ठाडाे आरोप कसैले लगाउन सक्दैनन् । माझीसँगकाे सम्बन्ध, उनकाे अवस्था र गुमनामबारे समेत कसैले प्रश्न गर्न सकेकाे देखिँदैन । गायन क्षेत्रका र उनलाई नजिकबाट चिनेका काेही कसैले पनि माझीकाे बारेमा खुलेर बाेल्न समेत चाहँदैनन् । कतिले भने अरूकाे नीजी जीवनमाथि हस्तक्षेप गर्न नहुने बताउँछन् ।
आफू भने सार्वजनिक कार्यक्रममा देखिएर, सहभागी भएर मनाेरञ्जन लिने माझीका श्रीमान् अधिकारी आफ्नी श्रीमतीलाई किन लुकाइरहेका छन् त ? किन बन्धक बनाउन चाहन्छन उनी श्रीमतीलाई ? किन उनकाे स्वतन्त्रता हनन् गरिरहेका छन् ? या माझी आफैँ देखिन चाहन्नँन् ? कसले दिने यसकाे जवाफ ? के अब कहिल्यै बाहिर आउँदिनन् त माझी ? कसले मेटाउने दर्शक, श्राेताकाे काैतुहलता ?






