वीरगंज । एक समय उपकरण अभाव झेल्दै आएको पोखरिया प्रादेशिक अस्पतालमा अहिले भने उपलब्ध उपकरणहरू नै प्रयोगविहीन अवस्थामा रहेका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयबाट पठाइएका महत्वपूर्ण स्वास्थ्य उपकरणहरू सञ्चालनमा नआउँदा अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन ।
अस्पतालका लागि मेडिकल फोहर जलाएर नष्ट गर्ने उपकरण मन्त्रालयले उपलब्ध गराएको भएपनि हालसम्म प्रयोगमा ल्याइएको छैन । अस्पताल स्रोतका अनुसार उपकरण जडानका बेला एक पटक डेमो गरिएको थियो, तर त्यसपछि नियमित सञ्चालनमा ल्याइएन ।
परिणामस्वरूप अस्पतालबाट निस्कने मेडिकल फोहर अहिले पनि नगरपालिकाले अन्य फोहरसँगै संकलन र विसर्जन गर्दै आएको छ । स्वास्थ्य विज्ञहरूका अनुसार मेडिकल फोहर अन्य फोहरसँग मिसाएर विसर्जन गर्दा संक्रमण फैलिने गम्भीर जोखिम रहन्छ ।
विभिन्न रोगका बिरामीले प्रयोग गरेका सुई, पट्टी, औषधिजन्य फोहर अलग्गै व्यवस्थापन गर्नुपर्ने हुन्छ । वीरगञ्ज महानगरपालिकाले समेत फोहर प्रशोधन केन्द्र निर्माणअघि यस्तै समस्या झेलेको थियो ।
हाल भने महानगरले मेडिकल फोहोर छुट्टै संकलन र व्यवस्थापन गर्दै आएको छ, जसका लागि साझेदार संस्था एके इन्टरनेशनलले अस्पतालहरूबाट शुल्क समेत लिने गरेको छ । तर पोखरिया प्रादेशिक अस्पतालमा मेडिकल फोहोर अझै पनि जथाभावी फालिने गरेको देखिन्छ, जसले स्थानीय क्षेत्रमा रोग फैलिने सम्भावना बढाएको छ ।
उपकरण प्रयोगविहीन
प्रदेश सरकारले उपलब्ध गराएको शव राख्ने दुई वटा चिस्यान केन्द्र पनि एक वर्षभन्दा बढी समयदेखि प्रयोगमा आउन सकेका छैनन् । त्यसैगरी अस्पतालको एम्बुलेन्स पनि लामो समयदेखि बिग्रिएको अवस्थामा थन्किएको छ । मर्मत नहुँदा आपतकालीन सेवा प्रभावित बनेको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारका अनुसार मेडिकल फोहोर व्यवस्थापन गर्ने उपकरण र एम्बुलेन्स दुवै मर्मत अभावका कारण सञ्चालनमा ल्याउन सकिएको छैन । उनले उपकरण सञ्चालन र एम्बुलेन्स मर्मतका लागि आवश्यक बजेट माग गरिएको भएपनि हालसम्म रकम विनियोजन नभएको जानकारी दिए ।
एम्बुलेन्स मर्मतका लागि करिब अढाई लाख रुपैयाँ आवश्यक पर्ने उनले बताए । शव चिस्यान केन्द्र भने स्थान अभावका कारण प्रयोगमा आउन नसकेको र हाल उपयुक्त स्थानको खोजी भइरहेको उनले बताए ।
औषधि अभाव टर्यो
विगत आठ–नौ महिनादेखि औषधि अभाव झेल्दै आएको अस्पतालमा हाल भने अवस्था केही सुधार भएको छ । डा. रौनियारका अनुसार प्रदेश सरकारबाट औषधि आपूर्ति भएपछि हाल नि:शुल्क औषधि सेवा सुचारु भएको छ ।
गत चैत महिनादेखि अस्पतालमा नियमित रूपमा उपलब्ध हुनुपर्ने ९७ प्रकारका नि:शुल्क औषधि अभाव हुँदा गरीब बिरामीहरू औषधि नपाएर फर्किन बाध्य भएका थिए ।
हाल बीमा अन्तर्गतका औषधिहरू पनि आंशिक रूपमा उपलब्ध छन् । तर प्रयोगशाला, भिडिओ एक्स–रे र एक्स–रेजस्ता सेवा भने पछिल्ला आठ महिनादेखि केमिकल र रिल अभावका कारण प्रभावित बनेका छन् ।
शैया बढ्यो, सेवा उस्तै
प्रदेश मातहत आएपछि १५ शैयाको अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको भएपनि सेवा विस्तार हुन सकेको छैन । व्यवहारमा पुरानै सेवा सञ्चालनमा रहेको छ । न त ५० शैयाको पूर्ण उपयोग भएको छ, न त १५ शैयामा समेत नियमित भर्ना हुने व्यवस्था छ ।
चिकित्सक र प्राविधिक जनशक्ति अभावकै कारण अस्पतालले २४ घण्टा सेवा जेनतेन सञ्चालन गरिरहेको छ । भर्ना हुने बिरामीको संख्या बढ्न नसक्दा अधिकांश बिरामीलाई जीतपुर र वीरगञ्ज रेफर गर्नुपर्ने अवस्था रहेको छ ।




