काठमाडौं । पछिल्लाे समय काेराेना संक्रमण केही घटेपनि संक्रमण दर भने स्थिर रहेकाे छ । तर निषेधाज्ञा खुकुलाे पारिएसँगै स्वास्थ्य मापदण्डकाे बेवास्ता गर्ने क्रम बढेकाे छ । साथै चाडपर्वका बहानामा विभिन्न स्थानमा भिडभाड पनि भइरहेका छन् ।
जसले अन्ततः काेराेना संक्रमण बढाउने र त्यसकाे नियन्त्रणका लागि कडा निषेधाज्ञा गर्नैपर्ने अवस्थामा पुर्याउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । त्यस्ताे अवस्था आउन नदिने दायित्व सबैकाे भएकाे भन्दै मन्त्रालयले अनिवार्य रूपमा मास्क लगाउन, सेनिटाइजरकाे प्रयाेग गरी भाैतिक दुरी कायम गर्नुका साथै स्वास्थ्य मापदण्डकाे पालना गर्न सुझाव दिएकाे छ ।
जनस्वास्थ्यका मापदण्डकाे बेवास्ता गरे फेरि कडा निषेधाज्ञा आउन सक्ने मन्त्रालयकाे चेतावनी छ । मंगलबार मात्रै १४ हजार ८१० जनाको नमुना परीक्षण गर्दा २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ३५ जनाले ज्यान गुमाएका थिए ।
नेपालमा अहिलेसम्म ७ लाख ५१ हजार एक जनामा संक्रमण पुष्टि भइसकेको छ भने हालसम्म १० हजार ५६८ जनाले ज्यान गुमाइसकेका छन् । जनस्वास्थ्यकाे मापदण्ड उल्लंघन गरे तेस्राे लहर आउने विज्ञहरूले चेतावनी दिइरहेका छन् । काेभिडकाे उपचार गरिरहेका अस्पतालहरूले पनि संक्रमितकाे चाप बढेकाे भन्दै सतर्क रहन आग्रह गरेका छन् ।






