सर्लाही । सर्लाहीको जुटपानीस्थित लखन्देही खोलामा बनेको झोलुङ्गे पुल जिर्ण बनेको लामो समयसम्म मर्मत नभएकाले स्थानीय बासिन्दा खोलाबाटै हिँड्न बाध्य भएका छन् ।
लालबन्दी २, हरिवन ५ र हरिपुर २ को सङ्गमस्थलमा पर्ने यो पुलमा पाँच सात ठाउँमा फलामे सामाग्री झरेर प्वाल परेको छ । त्यसैले पैदल यात्री, साइकल र मोटरसाइकल चालक खोलाबाटै हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ ।
स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा केही वर्षअघि ट्राइल ब्रिज सपोर्ट युनिट (टीबीएसयु) परियोजना अन्तर्गत पुल निर्माण गरिएको थियो । तर परियोजना ‘फेज आउट’ भएसँगै पुल कुन निकाय मातहत पर्छ भन्ने विषयमा अन्यौलता देखिएको छ ।
हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाका अनुसार “पुल धराप भइसकेको लामो समय भइसक्दा पनि मर्मतका लागि कुनै निकाय सम्पर्कमा आएको छैन । वर्षायाममा बाढी आउँदा पुल जोखिमपूर्ण हुन्छ, अहिले पानी नभएको हुँदा स्थानीय खोलाबाटै हिँड्न बाध्य छन् ।”
जिर्ण झोलुङ्गे पुलको प्वालमा खसेर दुई वर्षअघि लालबन्दी २ गैरीटोलका एक पुरुषको मृत्यु भइसकेको थियो । यसअघि लालबन्दी र हरिवन नगरपालिकाले जोखिमपूर्ण पुल मर्मतका लागि बारम्बार प्रदेश सरकारलाई पत्राचार गरिसकेका छन् ।
हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले भने, “झोलुङ्गे पुल हेर्ने स्पष्ट निकाय नहुँदा समस्या छ । स्थानीय तहमा प्राविधिक नहुँदा मर्मत गर्न कठिनाइ देखिन्छ । जुनसुकै निकायले भएपनि प्रदेश सरकार मातहत रहेकाले छिटो मर्मत गरिदिनु आवश्यक थियो ।”
मधेश प्रदेशको पूर्वाधार विकास निर्देशनालयले हालै प्रादेशिक प्राविधिक सहयोग प्रदायक (पीटीईपी) सँग सम्झौता गरी जिल्लास्थित पुल निरीक्षणका लागि प्राविधिक खटाएको छ ।
कार्यक्रम संयोजक राजेन्द्र श्रेष्ठले भने, “सामान्य मर्मत सम्भार पालिकाको जिम्मेवारीमा पर्छ । ठूलो खर्च लाग्ने भए पूर्वाधार विकास निर्देशनालयसँग बजेट माग गर्न सकिन्छ । हामी प्राविधिक सहयोग मात्र दिन सक्छौँ ।”
तर प्राविधिक हालसम्म जिल्लाका झोलुङ्गे पुल निरीक्षणमा नपुगेका छन् र स्थानीय तहलाई पनि यस बारे जानकारी छैन । विभिन्न दातृ निकाय र स्थानीय तहले निर्माण गरेका झोलुङ्गे पुलको नियमित मर्मत नहुँदा जोखिम बढेको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।




