सर्लाही । सर्लाही सदरमुकाम मलंगवास्थित नयाँ बसपार्क आजबाट नियमित सञ्चालनमा आएको छ । तर साना सवारी व्यवसायीहरूले पनि बसपार्क प्रयोग गर्न पाउनुपर्ने माग राख्दै विरोध जनाएका छन् । बसपार्क निर्माण भएको तीन वर्षपछि मात्रै मंगलबारदेखि सञ्चालनमा आएको हो ।
बस तथा साना सवारी व्यवसायीबीच यात्रु चढाउने विषयमा विवाद हुँदा बसपार्क सञ्चालन हुन सकेको थिएन । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार, दस दिनअघि सरोकारवालासँगको छलफलपछि पुस १ गतेबाट नयाँ बसपार्क सञ्चालन गर्ने निर्णय गरिएको थियो । सोहीअनुसार बसपार्क सञ्चालनमा आएको हो ।
उनले बताए अनुसार, बस सेवा नयाँ बसपार्कबाट सञ्चालन भइरहेको छ भने साना सवारी जिविस चोकस्थित मैदानबाट सञ्चालनमा छन् । तर साना सवारी व्यवसायीहरूले यो निर्णय अस्वीकार गर्दै बसपार्कमा साना सवारी पनि सहभागी गराउनु पर्ने माग गरेका छन् ।
मलंगवा नगरपालिका २ स्थित जिल्ला प्रहरी कार्यालय नजिक आठ करोड ३१ लाख रुपैयाँ खर्च गरेर बसपार्क निर्माणको काम तीन वर्षअघि नै सम्पन्न भएको थियो । तर सुविधायुक्त बसपार्कबाट बस सञ्चालन नगरी, वडा नम्बर ९ स्थित मुख्य बजारमा रहेको कृषि विकास बैंकको जग्गाबाट बस छुट्ने प्रचलन जारी थियो ।




